साँखु धुँल्लाटोल गणेश र किम्बदन्तीका कुरा


१) ।। ८७ साल श्रावण सुदी १५ रोज ७ मा साँखु ....... बस्ने हरिदास श्रेष्ठ र नीजको स्वास्नी बाल ....... रीले चढाएको शूभं ।।
२) ।। श्रीगणेशायनमः ।।
आगे श्री तुलसी भाष्करको नाती श्री जनकलालको छोरा साँखु पुखुलाछी–२ धुँल्लाटोल फिसलबासी श्री गोपालदासद्वारा श्री धुँल्ला गणेशको चरणमा वि.सं. २०३५ सालमा पित्तलको छाना चढाई टायल छापी जिर्णोद्धार गरिएको यो मन्दिर परिषद्मा टायल छापी सम्पूर्ण जिर्णोद्धार गरियो । ईतिसम्वत् २०६० साल चैत्र २२ गते १ रोज शुभम् ।।
३) ।। श्री गणेशको मन्दिरमा २०५७ स्व. दिदी सुश्री कमला देवी श्रेष्ठको स्मृतिमा मेहेर परिवारले चढाएको वार्षिक तिथी साउन शुक्ल द्वित्तिया भाद्र ७ शुभम् ।।
समय समयमा धुँल्ला गणेशको मन्दिर मर्मत सम्भार गरिएको कुरा अभिलेखबाट बुझ्न सकिन्छन् भने यौटा धातु पाता भित्र अर्को पनि केही धातु पाता अभिलेख छोपिएको पनि देख्न सकिन्छ । शायद त्यो २०३५ सालकै अभिलेख माथि अर्को सोही व्यक्तिले जिर्णोद्धार, टायल छाप्ने कामले छोपिएको हुन सक्दछ । स्थानीय व्यक्तिहरुका अनुसार अगाडि त्यहाँ अर्कै त्यस्तै अभिलेख भएको जानकारी दिएका छन् । धुँल्ला गणेशको प्रख्यात सम्बन्धी यौटा स्थानीय किम्बदन्ती यसप्रकार रहेका छन् ।
धुँल्लाटोलको कुनै घरमा यौटा जुवा धेरै खेल्नुपर्ने जुवाडे रहेछन् । उ सधैँ जुवा खेल्न जाँदा र आउँदा गणेशजीलाई ढोगेर जाने आउने गर्दथ्यो । तर जुवाले हारेको दिनमा फर्कँदा गणेशजीलाई ढोग्दा हातले ल्वाप्पा ख्वाएर तिम्रो जयहोस् भन्दै आफ्नो हात ढोगेर जाँदा रहेछन् । सधेँको यस्तो ताल देखेर एकदिन गणेशजी प्रत्यक्ष भएर बसेका रहेछन् र हारेको जुवाडे आएर देउतालाई ल्वाप्पा खुवाएर जय होस् तिम्रो भनेको बेलामा गणेशजीले पनि तेरै जय होस् भनि जुवाडेलाई नै ल्वाप्पा खुवाई अनुहारमा हानेछ । जुवाडे डरले तर्सिएर गएछन् र त्यसदिनदेखि त्यो जुवाडेले जुवामा कहिल्यै हार्न परेन रहेछ । उस्को र उस्को परिवारको सधैँ जय मंगल भएछ र कहिल्यै पनि धुँला गणेशको पूजा र ढोगभेट टुटाएन । जुवाडे बुढो हुँदै गयो तर पनि भक्तिभावमा केही कम भएन ।
त्यही टोलमा यौटा अन्धो ठिटो पनि रहेछ । उ पनि सानै देखि आमाले गणेशस्थानमा पूजा गर्न जाँदा सँगै ल्याउने र गणेश ढोगाउने गरेकाले सधैँभरि बिहान लठ्ठीको सहाराले छामछुम गर्दै जय गणेश जय गणेश भन्दै ढोग्न आउँदथ्यो । त्यो अन्धो ठिटोले गणेश ढोग्न आउँदा अन्य भक्तजनहरुले सर्वप्रथम भीडै भएपनि उस्लाई गणेश ढोग्न प्राथमिकता दिन्थ्यो र उ जय गणेश जय गणेश भन्दै श्रद्धाभक्तिपूर्वक छामछुम गर्दै देउता ढोगेर फूल जल प्रसाद लिएर जान्थ्यो । उसको भक्तिभाव देखेर एकदिन धुँलागणेश प्रत्यक्ष भएर बसेका थिए । त्यो ठिटो अन्धो व्यक्ति जय गणेश जय गणेश भन्दै गणेशजीलाई छामछुम गर्दै ढोग्दा अन्य बेला भन्दा अलिक गणेशको मूर्ति स्पर्शमा केही फरकपन आएकोले डर र त्रासले “प्रभू मेरो उद्धार गर्नु हवस्” भनि विन्ति गर्दै भनेछन् । गणेशजीले पनि “तँलाई उद्धार गर्न भनि आएको छु, यौटा मात्र वर माग” भनेछन् । अन्धोठीटो अलमल भएर प्रभू म घर गएर सोधेर आउँछु भनि गणेशजीसँग आज्ञा लिएर घर पुगेर सबै कुरा आमा र श्रीमतीलाई सुनाएछन् । आमाले गरिब छौँ धन सम्पत्ति धेरै माग्नु भनि सल्लाह दिएछन् । श्रीमतीले यौटा राम्रो छोरा पाउँ भनि माग्नु भनेछन् । आफूलाई संसारले हेर्ने आँखाको ज्योति चाहिएको अन्धो अलमलमा परी पुनः गणेश स्थानतिर जाँदै गर्दा उही पुरानो बुढो जुवाडे भेटेछन् र अन्धोको कुरा सुनेर आफूलाई पनि गणेशजीले उपकार गरेको कुरा बताई यौटा गतिलो सल्लाह दिएर त्यसरी नै गणेशजीसँग माग्नु भनिगएछन् ।
अन्धो ठिटो गणेशस्थान पुगेर छामछुम गर्दै “प्रभू मेरो छोरोले सुनको थालमा दूधभात खाएको हेर्न पाउँ” भनि वरदान मागेछन् । गणेशजीले तथास्तु भनि वरदान दिई अन्र्तध्यान भएछन् । साँच्चिकै केही समयपछि अन्धोले आँखा पनि देखेछन् र श्रीमतीले छोरोपनि पाएछन् साथै धनसम्पत्ति पनि बढ्दै आएर सुख भए । यसरी आजसम्म पनि धुँल्ला गणेशको सेवा गर्ने श्रद्धालुहरुको श्रद्धा कम भएको छैन । भवतु सव्व मंगलम् ।।

read first part
Reactions

Post a Comment

0 Comments