चेतराम पौडेल
नेपाल सदियौँ देखि शान्ति भूमि पवित्र हिमाली राज्य भएकाले ठूला साम्राज्यवादीहरु हाम्रा वीर पूर्खा सामु हारेर पछि हटेको ईतिहास हामी सबैका सामु छर्लङ्ग छ । तर केही नेताहरुको बुद्धि विवेकमा खडेरी लागेर यो देशका दाजुभाई दिदी बहिनीहरुलाई आपसमा लडाएर आफ्नो स्वार्थ पूरा गरिरहेका छन् । जुन कुरा अब युवा पुस्तालाई अपाच्य हुने सम्भावना प्रवल बन्दै गईरहेको छ । हामी नयाँ नेपालको नाममा उठेका संघियता जातियता जस्ता नारामा अल्झिएर आफ्नो खुट्टामा आफै बञ्चरो नहानु नै वेश हुन्छ भन्ने पक्षमा उभिँदा सर्वोपरी हित हुन्छ ।
संविधानसभाको औचित्य धेरै पहिलेदेखि नै महसुस गरिएको विषय भएतापनि राष्ट्रियतामा आँच आउने खतरा देखेर हाम्रा पूर्वजहरुले उक्त विषयलाई छाडेर सामाजिक सद्भाव सुदृढ पार्ने काममा लागे फलस्वरुप हामी नेपाली हुनुमा गौरव गर्न लायक भएका छौँ । विदेशी शक्तिहरुले यहाँको सामाजिक सद्भाव खल्बल्याएर हाम्रो प्राकृतिक धरोहरलाई भताभुङ्ग पार्न खोजिरहेको सबैका सामु छर्लङ्गै छ । नेताको विवेकमा ह्रास आएपनि हामी जनताको त विवेक ताजै छ स्वस्थ्य एवं स्वच्छ भएकाले हाम्रो विवेक नगुमाएर आपसी सद्भाव सुदृढ गर्दै जाँदा राष्ट्रियता स्वधर्म संस्कृति संरक्षण हुने देखिन्छ ।
हाम्रा पुर्खाले सिस्नो ढिँडो खाएर देखाएको बहादुरी आजका सन्ततीमा क्रमशः हराईरहेको भान हुन्छ, किनकी विदेशबाट आयातित अस्वस्थकर खाना खाएर युवा पिँढीको विवेकमा धमिरोले आक्रमण गरिहेको छ । यदि पुर्खाले झैँ आफ्नोपनको आहार विहार आचरण जीवन पद्धती नअँगालेमा हाम्रो राम्रो देशको संस्कृति तथा प्रकृति मासिन बेर लाग्दैन ।
मानिस आफै सर्वश्रेष्ठ प्राणी भएकाले अरुबाट सञ्चालित हुन नसक्ने कुरामा सबैको एकमत छ । शक्ति र राजनीतिको लडाइँमा हामी आफ्नोपनलाई नछाडेर अत्यन्त संयमित भै विवेक शक्तिलाई सदुपयोग गर्न सबैलाई सचेत बनाउने शिक्षित वर्ग लाग्नु परेको छ । आजभोलि दिनदिनै बन्द, हडताल, झगडा गरेर समाजमा अभाव तनाव उत्पन्न गर्न जो कोही लागिपरेका भए पनि उनीहरुको विवेकले सुकर्म गरेजस्तो सर्वसाधारणलाई लाग्दैन । अतः ज्ञान विवेक क्षमताको सदुपयोग गर्दै पूर्खाले आर्जित पुण्यभूमि नेपाललाई बिखण्डन हुनबाट बचाउन नै हामी सबैको परम कर्तव्य ठहर्छ । आदरणीय राजनेताहरु ! एकपटक सोचेर नेपाल र नेपालीको हितका लागि समझदारी सहमती तथा सद्भाव बढाउने मन वचन कर्ममा लाग्नुहोस् ।
यो देशमा भएका प्राकृतिक तथा साँस्कृतिक धरोहरलाई जोगाएर सदुपयोग गर्दा हामी सम्पन्न हुन्छौँ । विद्यालयलाई शान्तिक्षेत्र पारेर व्यवहारिक शिक्षा दिन हरेक शिक्षक लाग्नु परेको छ । कृषकले आफ्नो खेतबारीमा प्राङ्गारिक मल बीउको जोहो गरी खेती गरी स्वस्थ एवं स्वच्छ खाद्य पदार्थ उत्पादन गर्नु परेको छ । उद्यमी तथा व्यापारीवर्गले कुनै पनि वस्तुको उत्पादन संकलन भण्डारण तथा विक्री वितरण गर्दा कमसल वस्तु नमिसाएर पनि मुनाफा कमाउन सक्छन् । राजनेताहरुले प्रशासन, व्यवस्थापन एवं सुशासनमा आफ्नो क्षमता देखाउँदा विवके प्रयोग गर्नुपर्दछ । अन्य पेशा व्यवसायमा लागेका सबैले आ–आफ्ना क्षेत्रमा सामाजिक एवं साँस्कृतिक सदव कायम राख्नु नै सबैलाई राम्रो हुनेछ । जय जन्मभूमि नेपाल ।
0 Comments