लप्सेफेदी साधुश्मशानका केही किम्बदन्तीका कुरा

अक्षता फूल टाढैबाट छर्दै चढाई गुठीयारहरुले हालसम्म पनि नमस्कार गर्दछन् ।
एकदिनको कुरा शासं साँखुका एकजना भलादमीको साँझपख मृत्यु भएछ र नियमानुसार जोरजाम गरेर मृतक लाशलाई राति नै साधुस्मशानतिर लैजाँदा बाटोमा ठूलो असिना पानी र हुरीबतास आएकोले लाश बिसाउने पाटी सम्म जसोतसो पु¥याएर गुठीयारहरुले भोलिमात्र मसानघाट पु¥याउने सल्लाहगरि फर्केछन् । त्यही राति एकजना सिद्रामाछा बेच्ने फौबञ्जार कुम्लो बोकेर हुरीबतास शान्त भएपछि माथिगाउँबाट झरेर त्यही पाटीमा बास बस्न पुगेछन् । अँध्यारोमा छामछुम गर्दा एकजना मानिस सुतिरहेको चाल पाएर आफुपनि नजिकै कुम्लो बिसाएर सुतेछन् । एकछिनपछिको गहिरो निन्द्रामा फौबञ्जारले केही चलमलाएको आवाजले निन्द्रा टुटेछ र आफ्नो अगाडि सेतै कपडाले जीउभरी बेरिएका मान्छेले केही चपाईरहेको जस्तो देखेर झटपट उठेर नियाल्दा आफ्नो पोकोबाट सिद्रा माछाहरु जिउँदो भएर उफ्रिरहेको र त्यो सेतो ओढेको मान्छेले जिउँदा माछाहरु टिपी टिपी कपाकप खाईरहेको देखेपछि आफुलाई घाटापर्ने पीरले माछा नखाईदिन अनुरोध गरे । तर उसको कुरा नसुनेझैँ गरी सबै माछाहरु खाईसकेपछि चुपचाप त्यो मान्छे फेरि सुतेछन् । आफू पनि एकछिनपछि निन्द्रा हो की तन्द्रा हो केही नबुझी सुतेछन् । सपनामा फौबञ्जारले आफ्नो कुम्लोका माछाहरु भँगेरा, परेवा, सारौँ, सर्प, बोका, बाख्रा भेडा भएर चौरमा उडिरहेको र चरिरहेको, पानीमा पौडिरहेको, घस्रिरहेको देखेछन् ।
बिहान घाम लाग्ने बेलासम्म लाशसँग सुतिरहेको यौटा मान्छे देखेपछि अचम्म मान्दै लाश कुरुवा त रहेछ भन्दै साँखुबाट आएका गुठीयारहरुले मृतक लाश श्मशानतिर लैजान सुरु गरेको गल्याङमल्याङ आवाजले ब्युँझेर झटपट उठेर हेर्दा अगाडिको दृश्य देखेपछि राति आफू यौटा मरेको लाशसँग सुतेको र रातिको घटना सम्झेर आफ्नो कूलदेवता भाकेर ।।तारेमाम शरण ।। तारेमाम शरण ।। तारेमाम शरण ।। भनि पुकारा गरिरहेछन् । गुठीयारहरु लाश बोकेर गईसकेपछि फौबञ्जार पनि आफ्नो पोको पन्तुरो झटपट बोकेर बाटाभरी कपाल र जीउभरीका रौ ठाडाठाडा पारेर बल्ल बल्ल घर पुगेछन् । आफ्नो कुम्लो पनि अलि गुह्रुँगो जस्तो लागेर झटपट फुकालेर हेर्दा सिद्रा माछाहरु सबै सुनका माछाहरुको रुपमा देखेर “धन्य परमेश्वर उग्रतारा बज्रयोगिनी माता” भनि एकै सासले देवीदेवताहरुको सक्दो नाम लिएर पुकारा गरेछन् । साथै राति लाशसँग सुतेको सम्झेर बीचबीचमा झस्किएर डराउने रोगले च्यापेछन् । घर परिवारले पनि बज्रयोगिनी देवीको भाकल गरि एकजोर पूजा पठाएपछि त्यो फौबञ्जारको डराउने रोग केही शान्त भएछन् ।
केही दिन पछि फौबञ्जार घरपरिवार सल्लाह गरेर लाश बिसाउने पाटीनिर कूलदेवता स्थापना गरेर शाधुस्मशान घाटमा वर्षेनी एकजोडी जिउँदा माछा, एकजोडी भँगेरा, एकजोडी सर्प र बोका बली दिई बोकाको टाउको यज्ञमा होम गर्नु पर्ने छागवली गुठी पूजा स्थापना गरेर चाहिँदो आयस्ता आउने खेत समेत बन्दोबस्त गरिदिए । त्यस पछि फौबञ्जारका शाखा सन्तानहरुको व्यापार फस्टाएर धनाढ्य भए । यसरी लप्सेफेदीको साधुश्मशानमा मीन, सर्प, पशुपंक्षी होम गर्ने परम्परा चल्न गयो । यस परम्परागत पूजालाई शास्त्रमा जलचर, थलचर, उभयचर र नभचर होम भनि लेखिएको पाइन्छ ।
माथिको किम्बदन्ती अनुसार हालको साँखु नगरलाई सातगाउँका मानिसहरु सम्मूच्चय गरि निर्माण गरेपछि टाढाको श्मशानको सट्टामा उपश्मशान भने हालको बज्रयोगिनी गाविसमा पर्ने पापमुक्ति श्मशानमा नै मृतक लाश जलाउने परम्परा सुरु गरियो । पुरानो मसानघाटमा वर्षेनी माघ मेलामा स्वस्थानी व्रत बस्ने साँवा खलक र कजी खलकहरुले महाशिवरात्रीपूजामा परम्परागत जलचर, नभचर, उभयचर र थलचर भनिने माछा, भँगेरा, सपै र बोका लगि पूजा हो कार्य अहिले पनि गर्दै आईरहेको छ । हाल गुठी जग्गा मासिएको र पाटी पनि धेरै वर्ष अगाडिदेखि भत्केर लावारिस भईसकेपछि व्यक्तिगत जग्गामा परिणत भैसकेका छन् । पूजा होमका लागि एकजोडी माछा, सर्प र भँगेराको बन्दोबस्त हाल सम्म भैरहेको कुरा साँवागणले बताएका छन् ।
यस्ता किम्बदन्तीको आधारमा भएतापनि गुठी पूजा हालसम्म चलिरहेको छ । त्यस कूलदेवता पाटीको पहिचान गरि पुनः त्यहाँ पाटी स्थापना गर्न सकेमा साधुश्मशान पूजा गरि फर्कँदा त्यस स्थानमा पूजा गर्दा केही बेर सुस्ताउने ठाउँ पाउने भई अन्य सर्वसाधारणहरुलाई पनि घाम पानीबाट बच्नको लागि केही बेर सुस्ताउने ठाउँ हुने तर्फ सबैको सोच पुग्नु आवश्यक छ । साथै साधुश्मशान सम्म पुग्ने गोरेटो बाटो नि राम्रो अवस्थामा राख्न मर्मत गर्न सकेमा परम्परागत पूजा र गुठीयारहरुलाई सुविस्ता पुग्ने हुन्छ । त्यसका साथै परम्परागत यज्ञ अवलोकन गर्न पछि पछि आन्तरिक पर्यटकहरु पनि आउने सम्भावनालाई विचार गरि लप्सेफेदी क्षेत्रका सरोकारवालाहरुले आवश्यक विचार विमर्श गरी त्यस क्षेत्रको विकास, संरक्षण र पर्यटन प्रवद्र्धन गर्न सकिने कुरामा दुईमत नहोला । तत्काल होटेल वा लज बनाउन नसकेपनि होमस्टेको अवधारणा ल्याई आन्तरिक पर्यटकलाई व्यवस्थित गर्न सकिन्छ । अस्तु ।। read first part
Reactions

Post a Comment

0 Comments