घोडेजात्रा एक पर्व


– मचाराजा महर्जन
नेपालमा मनाइने, विभिन्न पर्व मध्ये घोडाजात्रा पनि एक हो । काठमाडौं उपत्यकामा मनाइने धेरैजसो जात्रा पर्व विभिन्न देवीदेवताका नाममा मनाइने गरेको पाइन्छ । तर घोडा जात्रा पर्व भने विशेष रुपले काठमाडौंको टुंडिखेल मैदानमा घोडा दगुराएर मनाइने गर्दछ । हरेक वर्ष चैत कृष्ण औंसीका दिन घोडाजात्रा पर्व मनाउने प्रचलन छ । यस दिन टुंडिखेलको सैनिक मञ्च अगाडि नेपाली सेनाद्वारा घोडा दगुराउने र अन्य कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ । छुट्टै सांस्कृतिक महत्व रहेको यस घोडा जात्रा पर्वमा औपचारिक रुपमा राष्टूाध्यक्षको पनि उपस्थिति रहने गर्दछ । यस जात्रा हेर्ने काठमाडौंको कुमारीलाई पनि टुँडिखेलमा ल्याइन्छ । यस दिन काठमाडौं उपत्यकामा विदा समेत दिइन्छ । घोडाजात्रा हेर्न हजारौं नर नारीहरु टुंडिखेलमा झुम्मिने गर्छन् । यस घोडाजात्रा पर्व परापूर्व कालदेखि नै शुरु भएको मानिन्छ । यसबारे धेरै पौराणिक किवंदन्ती पाइन्छ ।
घोडालाई वैदिककालदेखि नै निकै महत्वपूर्ण देउताको रुपमा पूजा गर्ने चलन छ । अश्वमेघ यज्ञको नाममा वैदिककालमा ठूलो महायज्ञ गर्ने चलन थियो । त्यतिबेला घोडालाई पूजा गरी दिग्विजयका लागि छोड्ने गरिन्थ्या । यसबाहेक घोडालाई विभिन्न कार्यमा प्रयोग गर्ने पनि गरिन्छ । यातायातका लागि घोडा महत्वपूर्ण साधन हो । यसलाई एक ठाउँबाट अर्को ठाउँमा जान प्रयोग गरिन्छ । घोडा अन्य जनावर भन्दा दगुर्न सक्ने शक्तिशाली भएकोले पहिले युद्धको समयमा घोडालाई विशेष रुपमा प्रयोग गर्ने गरिन्थ्यो । यस्तै घोडालाई मनोरञ्जनको साधनको रुपमा पनि प्रयोग गरिन्छ । यतिबेला घोडालाई दगुराई मज्जा लिने गरिन्थ्यो । सोही अनुरुप नेपालमा पनि प्राचीनकालदेखि नै घोडा गुराउने गर्दै आइएको छ । यस सम्बन्धमा किवन्दती यस प्रकार छ ः
पहिले काठमाडौं उपत्यकामा नेपाल मण्डल भनी कान्तिपुर, ललितपुर र भक्तपुरमा विभिन्न राजाहरुले राज्य गर्ने गर्दथे । अमोघपाश लोकेश्वरको प्रतापले यहाँका मानिस सुखपूर्वक जीवनयापन गर्ने गर्दथे । तर एक पटक ललितुरका राजालाई कान्तिपुर र भक्तपुरका जनताको सुख हेर्न मन लागेनछ र एउटा जनावर पठाई ती देशमा आतंक मच्चाउन लगाएछन् । त्यस जनावरलाई धपाउन कान्तिपुरले सबल बहालका तान्त्रिक गुभाजु शाश्वनवज्र वज्राचार्यसँग सल्लाह दिएछन् । शाश्वतवज्र वज्राचार्यले आसामको कामारु कामाक्षबाट कालिका देवीलाई ल्याएमा उक्त नरसिंह रुप जनावरलाई धपाउन सक्ने सल्लाह दिएछन् । त्यसपछि उक्त कालिकादेवीलाई ल्याउन शाश्वतवज्र स्वयं कामारु कामाक्षमा गई तान्त्रिक बलले कालिकादेवीलाई एउटा कलशमा साधना गरी नेपाल ल्याएछन् ।
कालिका देवीलाई ल्याएको खवर राजालाई दिन कशल रहेको झोला जमलस्थित एउटा रुखमा झुन्ड्याएर उनी राजदरवारतिर हिँडेछन् । तर त्यसबेला कालिका देवी सानी बच्ची भएर कलशबाट बाहिर आई खेतमा जान लागेका एउटा किसानसँग पछिपछि लागेर टोखाको आसपास पुगिछन् । किसानले खेतमा काम गरिरहंदा बालिका रुन लागिन् आफ्नो साथमा रहेका एउटा रोटी खान दिएछन् तर ती बालिका त्यहांबाट गायब भइछिन् किसानले पछि हेर्दा कन्यालाई देखेनन् । तर उनले दिएको रोटी भने सुनको रोटी भएको पाए ।
यता शाश्वतवज्र दरवारबाट फर्केर आउँदा सो कलशमा रहेको कालिका देवी गायव भएको चाल पाए । उनले तािन्त्रक बलले दिव्य दृष्टिले हेर्दा ती देवी टुप्यातिर लागेको चाल पाएछन् र उनी पछि त्यतै लागेछन् । जव बाउनी टुप्पाको बाटो लागे  तव उनले पनि तीन देवीलाई बालिकाको रुपमा भेट्टाए । शाश्वतवज्रले उक्त बालिकालाई नेपालमा रहन सुनको रोटी दिने र देशमै कहीँ नभएको जात्रा देखाइने छु भनी फकाई यहां बस्न अनुरोध गरेछन् । त्यसपछि कालिका देवीलाई उनले एउटा मन्दिर बनाई दिएछन् जसलाई अहिले भद्रकाली मन्दिरको रुपमा चिनिन्छ । उनलाई सुनको रोटी भनेर आजसम्म पनि भद्रकाली मन्दिरमा चामलको पीठोको रोटी चटामरीमा बेसारलगाई चढाउने चलन छ । आजसम्म पनि काठमाडौंका नेवारहरु भद्रकाली मन्दिरलाई लुँमधि द्यो भन्ने गर्दछन् । यस्तै देशमा कहीँ नहुने जात्रा भनेर हरेक वर्ष घोडा जात्रा गर्ने परम्परा बसाए छन् । जुन चलन आजसम्म पनि प्रचलित छ र हरेक वर्ष घोडा जात्रा गर्ने पररम्परा त्यसैको निरन्तरता हो ।
घोडा जात्राको सम्बन्धमा अर्को पनि किंवदन्ती पाइन्छ । कुनै समयमा काठमाडौंमा एउटा टुँडी नाम गरेकी राक्षसले दुःख दिने गरेकी रहेछ । त्यस राक्षसलाई जनताले समातेर जिउँदै गाडिदिएछन् । तर त्यो राक्षस मरेको रहेन छ । उसले बदला लिन अझ दुःख दिने गरेछ । यसैले सो राक्षसलाई तर्साउन यहाँका बासिन्दाले एउटा घोडालाई रक्सी खान दिई सबैले हाहा हुहु गरी कोलाहल मचाउने गरेछन् । त्यसपछि राक्षसले डराएर तर्साउन छोडेछ । त्यसैले बर्षेनि टुँडी राक्षस गाडिएको ठाउँ टुडिखेलमा घोडा दगुराउने परम्परा चलेको हो । टुँडी राक्षस गाडेको स्थान भएकाले त्यस स्थानको नाम नै टुँडिखेल रहन गयो भन्ने भनाई छ ।
Reactions

Post a Comment

0 Comments