साँखुको विस्केट जात्रामा प्रताप मल्लको योगदान


प्रत्येक वर्ष मेष संक्रान्ति अर्थात् बैशाख १ गते साँखुको चलाखु टोलको महालक्ष्मी अष्टमातृका पीठको सामुन्ने लिङ्गो ठड्याई भव्यताका साथ बिस्केट जात्रा मनाउने गर्दछन् । कालान्तरमा गुठी जग्गाको आयश्रोत नपुग्ने कारण विगत ३०÷४० वर्षदेखि औपचारिकता मात्र पूरा गर्ने गरि साँखुमा लिङ्गो ठड्याई बिस्केट जात्रा मनाउँदै आएको छ ।
मल्लकालदेखिनै अस्तित्वमा रहेको साँखुको बिस्केट जात्राको लिङ्गो करिब ३२ हातको रहेको छ । हलिंपताको दुवै पातामा अष्टमातृका देवीहरुको रंगिन चित्र र चन्द्र सूर्य चिन्हहरु धातुका पाताबाट बनाई सुवर्णलेपन गरिएका छन् । हलिंपतामा दुईवटा पुच्छरजस्तै बनाईएका छन् जुन नागका पुच्छर हुन् भन्ने विश्वास गरिन्छ । लिङ्गोलाई भैरवको प्रतिक मानिन्छ । जुन सल्लाको रुख बज्रयोगिनी क्षेत्रको वनबाट छानेर गुठियार अथवा टोलको सबैभन्दा जेठो व्यक्ति वा उक्त व्यक्ति वनसम्म जान नसकेको खण्डमा सबैभन्दा कान्छो व्यक्ति (जुन व्यक्तिको व्रतबन्ध गरिसकेको हुनुपर्दछ) ले छान्ने गरिन्छ । त्यसपछि अन्य टोलबासीहरुले रुख काटी हाँगा र बोक्रा काटकूट ताछतुछ पारिन्छन् । सुरुमा काट्न छानेको रुखलाई गुठियारहरुले विधिपूर्वक पूजा र भाले अथवा बोका वलि दिनुपर्दछ ।
साँखुमा मनाईने बिस्केट जात्राको परम्परा वैशाख १ र बैशाख २ गते गरि दुई दिन दुई रातको हिसाब गरि चार दिनको गणना गरि दुई दिनमै लिङ्गो ढालिन्छ र बिस्केट जात्रा सम्पन्न गरिन्छ । गुठियारहरुले लिङ्गो ठड्याई सकेपछि गुठीको भोज खानेबेलामा उक्त लिङ्गोको हलिंपताः झिकेर पूजा गरी भोजभाग राखेर मात्र भोजन गर्ने चलन रहेको उक्त गुठिका गुठियार श्रीकृष्ण श्रेष्ठ खानीवा बताउनुहुन्छ । यसै प्रसंगमा २०६७ साल बैशाख १ गते र २ गते दुई दिनको बिस्केट जात्रा कार्यक्रम सुरु र अन्त्यमा साँखुका संस्कृतिपे्रमी जीवन श्रेष्ठ, अनुप श्रेष्ठ र म समेतले उक्त लिंगो ठड्याउने कार्यक्रमको रेकर्ड गर्नुका साथै पुरानो र नयाँ हलिंपतामा लेखिएको लेखोट पढेको थिएँ । उक्त लिंगो ठड्याउने जात्रामा चलाखुटोलका युवाहरुले मात्र बिस्केट जात्रा र लिंगो ठड्याउने र ढाल्ने कार्यमा सहभागिता जनाएको देखिएको छ । त्यसबारेमा जानकारी लिँदा उक्त गुठीमा किसी, मल्ता र खानिवाः (जसलाई नेवारीमा बेनां भनिन्छ) थरका मात्र गुठियार भई पालै पालो बिस्केट जात्रा र लिंगो ठड्याउने र गुठी भोज खाने प्रचलन रहेको पाइयो । पछि किसी र मल्ता थरका गुठियारहरुले पनि गुठी छोडेर गएपछि जात्रा कार्यक्रम सञ्चालन गर्न नआएकोले खानिवा परिवार एक्लैले मात्र औपचारिकरुपमा गुठी एवं जात्रा चलाउने कार्य धानेको देखिन्छ ।
उक्त जात्रामा गरिने परम्परागत कार्यक्रमहरु यस प्रकार छन् ः–
१. लिङ्गो ठड्याउनु अगाडि अष्टमातृका पूजा गर्नुपर्ने कार्यक्रम अन्तरगत साँखुको स्मशानको रुद्रायणी देवी लाई एक वटा भालेको वली दिई पूजा अर्चना गर्ने चलन रहेको छ ।
२. लिङ्गो ठड्याउने स्थानको अष्टमातृका पीठ महालक्ष्मीको विधिपूर्वक पूजा अर्चनासहित लिङ्गो ठड्याईसकेपछि लिङ्गोलाई बोका बलि चढाई पूजा अर्चना गरि बाजागाजा सहित बिस्केट जात्रामा सहभागि सबैलाई प्रसाद बाँड्ने चलन रहेको छ ।
३.मल्लकालमा लिङ्गो ठड्याउने र ढाल्ने समयमा राजा सवारी हुन्थ्यो । प्रताप मल्ल सवारी भएको अभिलेख बज्रयोगिनी शान्ति स्वस्ति घटनावलीमा लेखिएको पाइन्छ ।
४.पुरानो हलिंपताः जीर्ण भएकोले हालको ने.सं. १००३ सालमा निर्माण गरिएको अभिलेख छ भने उक्त हलिंपताःमा प्रताप मल्लले ने.सं. ७८८ सालमा जिर्णोद्धार गरिएको भनि लेखिएको पाइएको छ ।
५. प्रताप मल्लकालिन जीर्ण हलिंपताको बारेमा गुठियार श्रीकृष्ण श्रेष्ठले हामीलाई गुठीकै दिन उक्त हलिंपता हेर्ने अवसर दिएका थिए । उक्त हलिंपता नाग÷सर्पको छालाबाट बनाइएको जस्तो देखिन्छ । त्यो भन्दा पनि अगाडिको हलिंपताः बारे कुनै जानकारी पाउन सकिएन ।
६. लिङ्गो जिर्ण वा टुक्रा भएमा नयाँ लिङ्गोको लागि परम्परा अनुसार वनमा गई नयाँ ल्याईन्छ ।
७. हलिंपताको अभिलेख अनुसार नन्दला माझी, भाजुवीर प्याथः, श्री नारां खानिवा र पुनां किसी चार जना गुठीयार रहेको देखिन्छ, मल्ताः थरको गुठियार त्यसबेला थिएन ।
अभिलेखको पूर्ण विवरण यस प्रकार छ ः–
स्वस्ति श्री२ कविन्द्र जयप्रताप मल्ला राजाया पारतसं ७८८ जिर्ण उद्धारं थुगु हलिंपताः जिर्ण जुयां अरे स्वस्ति श्री३ पिथीवीर विक्रम महाराजा थाकुल विजय राज्य शंखरापुरया न्हापायागु हलिंपताः जिर्ण जुयाओः रेपा दय्काः नन्दलाल माजिः भाजुवीर प्याथः, श्रीनारां खानिओ, पुनांकिसी नेओः न्हओ नमनारायाणाय १००३ मिति माघ सुदि १५ जोग ३ ..... जिर्णोद्धार शुभम् ।
लिङ्गो झुण्ड्याईने हलिंपतामा यौटा घण्टी रहेको छ । हलिंपता राख्न र झिक्न मिल्ने गरी डोरी र अंकुश मिलाएर राखिएको छ भने हलिंपताको दुवै पातामा चन्द्र र सूर्य एक एक वटा गणेश र भैरबका चित्रहरु, अष्टमातृका देवी र उनीहरुका बाहनहरुको चित्र छ । साँखुको बिस्केट जात्राको लिङ्गो ढाल्ने समयमा तत्कालीन राजा साँखु सवारी हुनुपर्ने प्रमाणस्वरुप शान्ति स्वस्ति घटनावली हस्तलिखित यसप्रकार भाषानुवाद गरिएको छ । “सम्वत् ७९४ चैत्र शुक्ल द्वित्तिया आदित्यवार यो दिन मेष संक्रान्तिको साँखुको विस्केट जात्रामा श्रीश्री प्रतापमल्ल राजा स्वास्थ्यका कारण सवारी हुन नसकी छोरा राजकुमारहरु तीन जना पठाई दिए । साँखुको बिस्केट जात्राको बेलामा लिङ्गो ठड्याउँदा अकस्मात तीन टुक्रा भई भाँचियो । सालमी एकजना किचियो धन्न बाँचियो मरेको रहेनछ ।”
हलिंपताको भाग पाता १ मा ः
चन्द्रमा धातुबाट बनाईएको –१, गणेश, ब्रम्हायणी, महेश्वरी, वैष्णवी, कुमारी, बाराही, इन्द्रायणी, चामुण्डा र महालक्ष्मी ।
हलिंपताको भाग पाता २ मा ः
सूर्य, भैरव, ब्रम्हायणी, महेश्वरी, बैष्णवी, कुमारी, बाराही,  इन्द्रायणी, चामुण्डा र महालक्ष्मी ।
साँखुको बिस्केट जात्रा परम्परालाई बचाईराख्न बज्रयोगिनी गाविस÷सुन्टोल गाविस र पुखुलाछी गाविसबाट आवश्यक खर्च रकम छुट्याउनु पर्दछ साथै साँखुको बिस्केट जात्रा परम्परा समिति गठन गरि चलाखु टोलको सत्तलमा कार्यक्रम सञ्चालन गरि एक्लै रहेका गुठियारलाई नाईके पूजारी बनाई भव्यताका साथ जात्रा परम्परा चलाउनु पर्ने आवश्यकता भईसकेको छ । पछि लोप भईसकेपछि पछुताउनुपर्ने छैन । संस्कृति परम्पराको जगेर्ना गरौँ ।
ाँखु र भक्तपुरको बिस्केट जात्राको लिङ्गो र हलिंपताको तुलनात्मक विवरण ः
साँखु                          भक्तपुर
लिंगोको लम्बाई ३२ हात        लिंगोको लम्बाई ५५ हात
हलिंपताः यौटा मात्र ११ हात     हलिंपताः दुईवटा ३५ हात
घण्टी यौटा मात्र               घण्टी धेरै छन्
गणेश, महालक्ष्मी, रुद्रायणी पूजा  भैरव रथयात्रा


Reactions

Post a Comment

0 Comments